
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको भनिएको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गरेका छन् । उनले प्रधानमन्त्रीको भ्रमणलाई पूर्ण रूपमा निजी भन्न नमिल्ने भन्दै भ्रमणको उद्देश्य र विवरण सदनलाई जानकारी गराउनुपर्ने बताएका हुन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीसँग सरकारी सुरक्षा संयन्त्रसमेत जाने भएकाले निजी भ्रमणका विषयमा संसद् र मन्त्रिपरिषद्लाई जानकारी गराउनुपर्ने बताए ।उनले प्रधानमन्त्री कहाँ र के उद्देश्यले भ्रमणमा गएको भन्ने विषयमा सदनलाई जानकारी दिनुपर्ने माग गरे ।त्यस्तै, सांसद राईले विपद्का कारण मुलुक आक्रान्त भइरहेका बेला सुनसरीको बराहक्षेत्र क्षेत्रमा कोशी नदीको कटानबाट खेतीयोग्य जमिन नष्ट भइरहेको भन्दै सरकारको तत्काल ध्यानाकर्षण गराए ।कोशी ब्यारेजका ५६ वटै ढोका नखोलिँदा बाढीका समयमा समस्या बढिरहेको दाबी गर्दै उनले त्यसको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । प्रत्येक वर्ष सप्तकोशीका कारण खेतीयोग्य जमिन डुबानमा पर्ने समस्या समाधान गर्न सरकारले प्रभावकारी पहल गर्नुपर्ने उनको भनाइ थियो ।राईले नाबालिकामाथि हुने बलात्कार तथा हत्याका घटनाप्रति पनि सरकार गम्भीर बन्नुपर्ने बताए । कानुनका कमजोरीको फाइदा उठाउँदै अपराधी खुलेआम हिँड्ने अवस्था अन्त्य गर्न बलात्कारसम्बन्धी कानुनी व्यवस्था स्पष्ट बनाउनुपर्ने र दोषी प्रमाणित भएकालाई कडा तथा निर्मम सजाय दिनुपर्ने उनले माग गरे।



























