
काठमाडौं । अमेरिकाले थप कडा प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेका बेला इरानी मुद्रा रियाल इतिहासकै कमजोर अवस्थामा पुगेको छ।अनौपचारिक बजारमा सोमबार एक अमेरिकी डलरको विनिमयदर बढेर २० लाख २० हजार इरानी रियाल पुगेको छ। इरानको केन्द्रीय बैंकले निर्धारण गरेको आधिकारिक विनिमयदर भने करिब १५ लाख रियाल रहेको छ। यद्यपि, अधिकांश नागरिकले अनौपचारिक बजारमा कायम विनिमयदरअनुसार कारोबार गर्ने गरेका छन्।युद्ध, अमेरिकी प्रतिबन्ध र निरन्तर आर्थिक दबाबका कारण इरानी अर्थतन्त्र थप संकटमा परेको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि नै दोहोरो अंकको मुद्रास्फीति र ऋणात्मक आर्थिक वृद्धिदरका कारण रियाल दबाबमा थियो।पछिल्लो करिब छ महिनादेखि जारी युद्धले अर्थतन्त्रमा थप असर पारेपछि रियालले पटक–पटक नयाँ ऐतिहासिक तल्लो विन्दु कायम गर्दै आएको छ।मुद्राको तीव्र अवमूल्यनसँगै इरानी नागरिकका लागि दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्दै गएको छ। युद्ध सुरु भएयता इरानमा चामलको मूल्य करिब ६० प्रतिशतले वृद्धि भएको बताइएको छ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युद्ध र बढ्दो आर्थिक दबाबका कारण इरानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच प्रतिशतभन्दा बढीले संकुचन हुने प्रक्षेपण गरेको छ।



























