काठमाडौँ– नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ।सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार १०ः५० बजेसम्म मृतकमध्ये १५ जनाको सनाखत भएको छ। आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन। दुर्घटनामा परी बेपत्ता भएकामध्ये दुई यात्रीको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेको छ।दुईवटा बसमा रहेका ६५ जना यात्रु बेपत्ता भएको घटनामा हालसम्म २३ जनाको शव भेटिएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।आज शुक्रबार बिहान १०:५० बजेसम्ममा २३ जनाको शव भेटिएको हो। दुईवटा शव भारतमा भेटिएको हो। बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीले दुई वटा शव फेला परेको उनले बताए।०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा सवार ऋषिपाल साह, रमितकुशर माझी, जयप्रकाश ठाकुर, किशोरकुमार चौधरी (चालक), अशोककुमार यादव, ऋषिकुमार सिंह, विवेक कुमार, जितेन्द्र राम महरा र अमृता कुमारीको सनाखत भएको हो।त्यस्तै ०३-००६ ख १५१६ नम्बरको एन्जल बसमा सवार विकास परियार, सजाद अन्सारी, सुदिप विक, परमानन्द पण्डित र चन्द्र प्रभा कुमारीको सनाखत भएको हो। बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी, नेपाली सेनासहितको टोली खटिएको छ।