
युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ३ विकेटले पराजित गरेको छ । नेपालका लागि ओपनर आसिफ शेख तथा सन्दीप लामिछानेले कीर्तिमानी साझेदारी गरेपछि पीएनजी पराजित भएको हो । सन्दीप र आसिफले आठौं विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए । १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । आशिफ शेखले ८६ रन बनाए । सन्दीप लामिछानेले ३५ रन बनाए । कुशल मल्लले २३ रन जोडे । पीएनजीका आसाद भालाले ३ विकेट लिए । यसअघि दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १७९ रन जोड्यो । पीएनजीका लागि टोनी उराले ३९ रन तथा किपलिन डोरिगोले २६ रन जोडे । हिरीले ३१ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट तथा करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक-एक विकेट लिए ।



























