काठमाडौँ। राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गर्नुभयो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभएको थियो ।त्यसअघि अध्यक्ष दाहालले असार २० गतेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शारदादेवी भट्टले प्रयोग गर्नुभएका शब्द ‘रेकर्ड’बाट हटाउन निर्देशन दिनुभयो । सचिवालयबाट अध्ययन गर्दा सांसद भट्टले प्रयोग गर्नुभएका ती शब्द राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१ को खण्ड (घ) १ को व्यवस्था विपरित भएको देखिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।अपाङ्गता भएका व्यक्तिलाई होच्याउने गरी प्रयोग भएका ती शब्दप्रति नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले नियमापत्ति गर्दै रेडर्कबाट हटाउन माग गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ७ गते सोमबार अपराह्न १ः१५ मा बस्नेछ । रासस