काठमाडौं । स्थानीय तह उपनिर्वाचनको निषेधित अवधि आजदेखि सुरु भएको छ ।
निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेधित अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ ।स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागु हुन्छ । निर्वाचन प्रचारप्रसार निषेधित अवधि यही मंसिर १३ गते राति १२ बजेदेखि सुरु भएको हो ।निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उमेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि यो अवधिमा गर्न पाइँदैन ।निषेधित अवधिमा कुनै उमेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा आयोजना गर्न, जुलुस निकाल्न, नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाइने छैन ।निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि कार्य गर्न नपाइने निर्वाचन आचारसंहिताले ब्यवस्था गरेको छ ।