मुस्ताङ । मुस्ताङका ५ स्थानीय तह मध्ये दुई स्थानीय तहको कुल ६ वडामा निर्विरोध भएको छ। मुस्ताङको लोघेकर दामोदरकुण्डका ३ वटा वडा र घरपझोङ गाउँपालिकाका ३ वडामा एकल उम्मेदवारी परेपछि त्यहाँ उम्मेदवारी दिने उम्मेदवार निर्विरोध भएका हुन्। तर यसलाई मुख्य निर्वाचन आयोगले तत्काल सार्वजनिक गर्न नमिल्ने बताएको छ।लोघेकर दामोदरकुण्ड गाउपालिकाको वडा १ ,३ र ४ मा उम्मेदवारी दिने उम्मेदवार निर्विरोध भएको निर्वाचन अधिकृत नेपालहरी रानाभाटले जानकारी दिए। एमाले जिल्ला ईञ्चार्ज चन्द्रमोहन गौचनका अनुसार लोघेकर दामोदरकुण्ड-१ को वडाध्यक्षमा टसी ढिन्डु ठुकुरीसहित पुरै सेट एमाले निर्विरोध भएको हो।वडा-२ मा एमालेका वडाध्यक्ष उम्मेदवार झ्याब्याङ तेञ्जिङ गुरुङसहित २ वडासदस्य र कांग्रेसबाट एक वडासदस्य निर्विरोध भएको एमाले जिल्ला ईञ्चार्ज गौचनले बताए। यस्तै वडा-३ मा एमालेबाट वडाध्यक्ष झ्याब्याङ छोसाङ गुरुङसहित २ वडासदस्य एमाले र एक वडासदस्य कांग्रेसको निर्विरोध भएको उनले बताए।लोघेकरको वडा २ र ५ मा कांग्रेस र एमालेबीच सबै पदमा उम्मेदवारी भएको छ भने ४ वटा वडामा दलित सदस्य कोटा खाली छ।मुस्ताङको घरपझोङ गाउँपालिकाको वडा १ र २ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार निर्विरोध भएका छन् भने वडा-५ मा एमालेका वडाध्यक्ष निर्विरोध भएको श्रोतले बताएको छ। घरपझोङको १, २ र ५ मा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र राप्रपाबीच आन्तरिक तालमेल भएको हो। घरपझोङ गाउँपालिकामा ४० जनाको उम्मेदवारी दर्ता भएको छ।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लोमान्थाङ गाउँपालिकामा नेपाली कांग्रेस र एमालेका तर्फबाट अध्यक्ष र उपाध्यक्षसहित ४६ जनाको उम्मेदवारी परेको छ। त्यहाँको ४ वटा वडामा दलित उम्मेदवार नभएकाले कांग्रेस र एमालेको ४-४ जना उम्मेदवारको कोटा रिक्त रहेको छ।लोमान्थाङमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ३० जनाको उम्मेदवारी परेको छ। लोघेकरमा एमालेले अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छ।गठबन्धनबाट लोघेकरमा नेकपा समाजवादीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छ भने कांग्रेसले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको छ।यस्तै वारागुङ मुक्तिक्षेत्र गाउपालिकामा नेकपा एमालेको तर्फबाट अहिलेसम्म ४५ जनाले उम्मेदवारी दर्ता गरे। जसमध्ये नेकपा एमाले त्यहाँ २७ वटै पदमा उम्मेदवारी दर्ता गरेको छ भने कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित अन्य पदहरुमा उम्मेदवारी दर्ता गर्ने क्रम भईरहेको छ।मुस्ताङको थासाङ गाउपालिकामा ५४ जनाको उम्मेदवारी दर्ता हुने अनुमान गरिएको छ। एमालेले त्यहाँ अध्यक्ष र उपाध्यक्षसहित २७ पदमा उम्मेदवारी दिएको छ भने नेपाली कांग्रेसले उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रम भईरहेको छ।निर्वाचन आयोगले मनोनयनपत्र दर्ता गर्ने समय २ दिन तोकेपनि लोमान्थाङबाहेक अन्य स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता भएको थिएन। जिल्लाका राजनीतिक दलहरुको आन्तरिक तयारीका कारण वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङमा दिउँसो २ बजेदेखि मात्र मनोनयनपत्र दर्ता सुरु भएको थियो।