
काठमाण्डु- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापतिसंग आफ्नो कुनै मतभेद नरहेको स्पष्ट पार्नुभएको छ ।प्रेस युनियन धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सभापतिसंगै आफ्नो पूर्ण सहकार्य एवं समन्वय भएको बताउँदै पार्टीमा कुनै प्रकारको विवाद र मतभेद नभएको बताउनुभएको हो ।उहाले पार्टीभित्र भएका बहसलाई सञ्चारमाध्यमले बढाइचढाई लेख्ने गरेको उल्लेख गर्नुभयो । कोइरालाले गगन थापा आफूहरूसँग नै रहेको भन्दै आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने विषयमा कुनै कुराकानी नभएको बताउनुभयो ।पार्टीमा १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेता सभापति पदका लागि उम्मेदवार बन्न सक्ने वैधानिक व्यवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाले गगन थापा र पूर्वराजाबीच भेटवार्ता भएको बिषयमा आफुलाई कुनै जानकारी नभएको जिकिर गर्नुभयो । त्यस्तै कोइरालाले राजनीतिक स्थायीत्वका लागि कांग्रेस र एमालेबीच गठबन्धन बनाएर सरकार बनाउनुपरेको बताउनुभयो । संविधानलाई सुधार गर्नका लागि पनि दुई दल मिल्नुपरेको उहाले बताउनुभयो । संविधान सुधारका लागि दुई दलबीच गृहकार्य सुरु भइसकेको भन्दै कोइरालाले अन्य दलहरुसंग मिलेर संविधान सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।उहाले अहिलेको गठबन्धन सरकार दुई पार्टीको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नु हुने र काँग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने बताउनुभयो ।




























