
काठमाडौं ।पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा मृत अवस्थामा भेटिएकी सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतको पोष्टमार्टम भएको छ।सशस्त्र प्रहरी बलमा कार्यरत सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया इन्स्पेक्टर सन्तोषी महत मृत अवस्थामा भेटिएकी हुन् । शनिबार राति ९ बजे ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा महतको शव भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।उनको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले जानकारी दिए । उनले भने,‘उनको शवको पोष्टमार्टम भएको छ । शव अस्पतालमै छ । शसस्त्र आन्तरिक छानविन समितिले काम गरिरहेको छ, घट्नाबारे अहिले केही भन्न सक्ने अवस्था छैन् ।’सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् । इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन्। प्रेम सम्बन्धका कारण उनले आत्महत्या रोजेको आशंका गरिएको छ। जवानमै हुँदा २०७८ सालमा असईमा नाम निकालेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्।
पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । तर, प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । परिवारले ती इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिने तयारी गरेका छन् ।




























