
काठमाडौं ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा रहेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीको अवस्थाबारे जानकारी लिएका छन् ।समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार बंगलादेशका विदेश मामिला सल्लाहकार तौहीद हुसैनले एन्टोनियो गुटेरेसलाई बिहीबार ढाकाको मुख्य विमानस्थलमा स्वागत गरेका थिए ।गुटेरेसले बंगलादेशको कक्स बजारको भ्रमण गरेका छन्, जहाँ रोहिंग्या शरणार्थीहरूको लागि शिविरहरू छन् ।भेटपछि गुटेरेसले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गर्दै बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई धन्यवाद दिए ।उनले लेखे,-‘जब देशले नयाँ परिवर्तनहरू गरिरहेको छ, तपाईं सबैका लागि दिगो र राम्रो भविष्य निर्माण गर्न संयुक्त राष्ट्र संघमा भरोसा गर्न सक्नुहुन्छ ।’विश्व खाद्य कार्यक्रम र अन्य संस्थाहरूले विशेष गरी यूएसएआईडीका कामहरू बन्द भएपछि सहायतामा सम्भावित कटौतीको घोषणा गरेपछि उनको भ्रमण महत्त्वपूर्ण मानिएको छ ।अमेरिकाले यूएसएआईडी बन्द गर्ने निर्णय गरेपछि विश्वभर सहायतामा गम्भीर कटौतीको डर बढेको छ ।




























