
चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोला नजिक आज बिहान खसेको सुख्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।आज बिहान माथिबाट अचानक ढुङ्गासहित ठूलो सुख्खा पहिरो खसेपछि देशकै व्यस्त सडक खण्डमध्ये एक मानिने उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण सडकमा सवारी साधन लामो समय रोकिँदा यात्रुहरूले सास्ती व्यहोर्नुपरेको थियो ।सडक डिभिजन कार्यालय भरतपुरका साइट सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो खस्नेबित्तिकै हेभी इक्विपमेन्ट तथा आवश्यक मेशिन परिचालन गरी हटाउने काम सुरु गरिएको थियो । निरन्तर प्रयासपछि सडकमा थुप्रिएको ढुङ्गा र माटो हटाएर आवागमन पुनः सञ्चालनमा ल्याइएको हो ।हाल सडकमा सवारी आवागमन सहज रूपमा भइरहेको छ । तर, उक्त क्षेत्रको कमजोर भौगोलिक अवस्थाका कारण बेलाबेला सुख्खा पहिरो खस्ने जोखिम रहने भएकाले चालक तथा यात्रुलाई सतर्कता अपनाउन सडक विभाग र स्थानीय प्रशासनले आग्रह गरेका छन् ।



























