
काठमाडौं । आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सञ्चार प्रविधिबारे नागरिकलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन (आईटीयू) स्थापनाको आधार तयार गरेको थियो । सोही दिनको स्मरणमा सन् २००५ देखि विश्वभर विश्व दूरसञ्चार दिवस मनाउन थालिएको हो । अहिले यो दिवसलाई ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’का रूपमा समेत मनाइन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन अन्तर्गत रहेका १९३ सदस्य राष्ट्रमा यो दिवस विविध कार्यक्रमसहित मनाउने गरिन्छ ।एक दशकअघिसम्म यो दिवस मुख्यतः दूरसञ्चार सेवाको विस्तारमा केन्द्रित रहने गरे पनि अहिले सूचना प्रविधि, डिजिटल पहुँच, इन्टरनेट सुरक्षा र डिजिटल साक्षरताजस्ता विषयलाई प्राथमिकतामा राख्न थालिएको छ ।नेपालमा पनि पछिल्ला वर्षहरूमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । एक समय टेलिफोन सुविधा सीमित व्यक्तिको पहुँचमा मात्र थियो । टेलिफोन लाइन जडान गर्न लामो प्रतीक्षा र शक्तिको पहुँच आवश्यक पर्ने अवस्था थियो । तर अहिले मोबाइल फोन र इन्टरनेट सेवा आम नागरिकको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ ।विशेषगरी २०४७ सालपछि प्रजातन्त्र पुनःस्थापनासँगै नेपालमा सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढेको मानिन्छ । आधारभूत टेलिफोन सेवाबाट सुरु भएको यात्रा अहिले आधुनिक मोबाइल सेवा, उच्च गतिको इन्टरनेट र डिजिटल सेवासम्म पुगेको छ । सञ्चार प्रविधिको विस्तारले शिक्षा, स्वास्थ्य, व्यापार तथा सार्वजनिक सेवामा समेत व्यापक परिवर्तन ल्याएको विज्ञहरूको भनाइ छ ।



























