
काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध जारी राखेका छन् । सभामुख डोलप्रसाद अर्याल ले बैठकको कारबाही अघि बढाउनासाथ विपक्षी सांसदहरू वेलमा पुगेर नाराबाजी गरेका हुन् ।यसअघि पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।पुनः बैठक सुरु भएपछि पनि विपक्षी दलहरूले नाराबाजी जारी राखे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस का सांसदहरू भने आफ्नै सिटबाट उभिएर विरोध जनाइरहेका थिए । विपक्षी दलहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।वेलमा उत्रिएका सांसदहरूले “निरंकुश प्रवृत्ति मुर्दावाद”, “संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन” लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।विपक्षीको निरन्तर अवरोधबीच सभामुख अर्यालले सदनको कारबाही अघि बढाएका थिए । केही विधेयक पारित भएपछि प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते बस्ने गरी स्थगित गरिएको छ ।



























