
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि समेत अनुसन्धान गर्न सिफारिस गरेको छ ।आयोगले ती घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा कार्कीको कुनै संलग्नता रहे–नरहेको र उनका सार्वजनिक अभिव्यक्तिबाट प्रदर्शनकारीहरू उत्तेजित वा आक्रोशित बने–नबनेको विषयमा छानबिन गर्नुपर्ने उल्लेख गरेको छ ।सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने गतिविधिमा उनीसहित अन्य व्यक्तिहरूको संलग्नता वा दुरुत्साहन रहेको भए त्यसबारे सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न आयोगले सिफारिस गरेको हो ।जेनजी आन्दोलनका क्रममा कार्कीले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई लिएर विवाद भएको थियो । त्यसकै बीच सरकारले उनलाई न्यायिक छानबिन आयोगको अध्यक्ष नियुक्त गरेपछि आलोचना समेत भएको थियो ।



























