काठमाडौं । अमेरिकी सेनाका इण्डो प्यासेफिक कमाण्ड कमाण्डर चाल्र्स ए फिलन चार दिने औपचारिक भ्रमणमा क्रममा नेपाल आइपुगेका छन् । भारतको राजधानी नयां दिल्ली हुंदै फिलन अमेरिकी सेनाको विशेष विमानबाट १२ः ३० मा काठमाण्डौं अवतरण गरेको नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले जानकारी दिए ।उनि नेपाल आउनुअघि भारतिय सेनाको कोलकोत्तास्थित पूर्वी कमाण्डको भ्रमण गरेका थिए । फिलनसंगै अमेरिकी वायु सेनाका दुई वटा विमान समेत काठमाण्डौं अवतरण गरेका छन् ।उनि एसिया–प्रशान्त क्षेत्रको कमाण्डरमा नियुक्त भएको ठिक एक वर्षपछी नेपाल भ्रमणमा आएका हुन् । चार तारे जर्नेल समेत रहेका उनि फिलन सन् २०२१ को जुनमा एसिया–प्रशान्त क्षेत्रको प्रमुख नियुक्त भएका थिए ।फिलनले शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधासेनापति प्रभुराम शर्मासंग भेटवार्ता गर्दैछन् । उनलाई सैनिक मुख्यालयमा गार्डअफ अनर दिने कार्यक्रम छ । प्रधानसेनापतिसंगको भेटवार्ताअघि नेपाली सेनाको अप्रेसन गतिविधिबारे उनलाई ब्रिफिङ गरिनेछ ।त्यसैदिन प्रधानसेनापतिले उनको सम्मानमा रात्रिभोज समेत आयोजना गरेका छन् । उनले शुक्रबार नै रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासंग समेत भेटवार्ता गर्दैछन् ।अमेरिकी जनरल चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । उनले सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम तय भएको छ । त्यहांबाट उनि सिधै अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुनेछन्।फिलन जेठ २९ मा सेनाको पांचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेज भ्रमणमा समेत जानेछन् ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा समेत अमेरिका भ्रमणमा जाने तयारीमा छन् ।