
काठमाडौँ| डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति थप सचेत र उत्तरदायी बन्नुपर्ने बताउनुभएको छ।सङ्घीय संसद् सचिवालय ले आज काठमाडौँमा प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले कानुन निर्माण प्रक्रियामा विगतका सकारात्मक अभ्यासबाट सिक्नुपर्ने तथा सांसदहरू अध्ययनशील र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो।उहाँले प्रतिनिधिसभामा धेरै नयाँ अनुहार रहेको उल्लेख गर्दै संसदीय प्रक्रिया र विधिबारे थप जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। “संसदीय प्रक्रिया र विधिमा दक्ष बन्न यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु,” उहाँले भन्नुभयो।सभामुख अर्यालले जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजी सीमाबाट सार्वजनिक दायित्वमा रूपान्तरण हुने भएकाले सोहीअनुसार जिम्मेवार र अनुशासित बन्नुपर्ने धारणा राख्नुभयो।कार्यक्रममा सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय ले स्वागत मन्तव्य राख्दै सांसदहरूलाई संसदीय प्रक्रिया, अभ्यास र विधिबारे थप जानकारी दिने उद्देश्यले दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।संसदीय प्रक्रिया र अभ्याससम्बन्धी उक्त कार्यक्रम सिंहदरबार स्थित संसद् भवन परिसरमा सोमबार र मङ्गलबार सञ्चालन हुने सचिवालयले जनाएको छ।



























