
काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार देशभर भगवान् शिवको विशेष पूजा–आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ।हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ। यही कारण साउनका प्रत्येक सोमबार शिवालयहरूमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ।सनातन परम्पराअनुसार साउन महिनाभर विशेषगरी प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जलाभिषेक, जप, तप तथा दान–पुण्य गर्ने चलन रहिआएको छ।धार्मिक विश्वासअनुसार साउनको सोमबार श्रद्धा र भक्तिभावका साथ व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप क्षय हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने जनविश्वास रहेको छ।यस अवसरमा देशभरका प्रमुख शिवालय तथा मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। नेपालका प्रसिद्ध पशुपतिनाथसहित विभिन्न शिव मन्दिरमा दर्शन, पूजा र जलाभिषेक गर्ने श्रद्धालुको उल्लेख्य उपस्थिति रहेको छ।



























