
काठमाडौँ । नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सोमबार महत्वपूर्ण छलफल भएको छ।'एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल'का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेट गर्दै द्विपक्षीय सहकार्यका विविध पक्षमा विचारविमर्श गरेको हो।भेटका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल–चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै यस्ता पहललाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले चलचित्र महोत्सवले नागरिकस्तरको सम्बन्ध विस्तारसँगै पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आपसी हित र साझा लाभका आधारमा सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए।उनले चीन नेपालका लागि प्रमुख पर्यटक स्रोत मुलुकमध्ये एक रहेको उल्लेख गर्दै नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखे। साथै, नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन र अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्शुले नेपाललाई चीनको घनिष्ठ मित्र राष्ट्रको रूपमा उल्लेख गर्दै नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र चलचित्र छायांकनका लागि उपयुक्त वातावरणको प्रशंसा गरे। उनले नेपालमा अन्तर्राष्ट्रिय चलचित्र तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा पर्यटन प्रवर्द्धन र नागरिकस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालका अनुसार 'एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल' नेपाल र चीनबीच चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले सञ्चालन गरिएको द्विपक्षीय पहल हो। यसले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने प्रभावकारी मञ्चका रूपमा काम गरिरहेको उनले बताए।उनका अनुसार सन् २०२६ अप्रिल १४ देखि १९ सम्म चीनको हुनान प्रान्तका चाङ्सा र हेङयाङ शहरमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षको अवसरमा महोत्सव आयोजना गरिएको थियो। नेपालबाट आवेदन परेका २३ चलचित्रमध्ये प्रारम्भिक छनोटमा ११ चलचित्र परेका थिए। चिनियाँ सेन्सर प्रक्रियापछि 'अञ्जिला', 'छक्का पञ्जा ५', 'तेल भिसा', 'महाजात्रा', 'कबड्डी ४' र 'होस्टेल ३' गरी ६ नेपाली चलचित्र प्रदर्शनका लागि स्वीकृत भएका थिए।ती चलचित्रहरू चिनियाँ सबटाइटलसहित सम्बन्धित निकायको स्वीकृतिपछि चाङ्सा र हेङयाङका चलचित्र हलमा प्रदर्शन गरिएको थियो। महोत्सवमा पुरस्कृत चलचित्रहरूको पुरस्कार वितरण कार्यक्रम मंगलबार (साउन ५) काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने अध्यक्ष दाहालले जानकारी दिए।



























