
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको तनाव नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएपछि राजनीतिक माहौल गर्माएको छ। सो घटनालाई लिएर नेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा झडप चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो। उक्त घटनामा प्रहरी र प्रदर्शनकारी गरी २१ जना घाइते भएका छन् भने कर्फ्यू जारी रहँदासमेत तोडफोड र आगजनी नरोकिएपछि सुरक्षाका लागि नेपाली सेनालाई समेत परिचालन गरिएको छ।घटनाप्रति कडा आपत्ति जनाउँदै नेता बास्कोटाले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीमाथि तिखो व्यङ्ग्य गरेका छन्। संसद्को रोष्ट्रममा उभिएर भावुक हुने तर नागरिकको सुरक्षा र घटनाको जिम्मेवारी लिन नसक्ने भन्दै उनले सरकार र मन्त्रीको नैतिकतामाथि प्रश्न उठाएका छन्। नैतिक जिम्मेवारी बाँकी भए गृहमन्त्रीले तत्काल पद त्याग गर्नुपर्ने उनको भनाइ छ।




























