
काठमाडौं । सरकारले आजदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन पालिकाहरुलाई आग्रह गरेको छ ।शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकश्मिक बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर तीन दिन विद्यालय बिदा गर्न पालिकाहरुलाई अनुरोध गरेको हो ।मन्त्रालयले वर्षाजन्य प्रकोपका कारण विद्यालय भवनमा क्षति भएको, विद्यार्थी तथा अभिभावक बाढी पहिरोको चपेटामा परेको र यातायात सेवा पनि अवरुद्ध भएका भन्दै विद्यालय बिदा दिन भनेको छ ।शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद भट्टराईले शनिबार जारी विज्ञप्तिमा देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएकाले विद्यालय बन्द गर्ने निर्णय लिएको उल्लेख छ।



























