
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन् ।बाढी, पहिरो तथा भू–क्षयजस्ता प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै पारिस्थितिक सन्तुलन कायम गर्ने उद्देश्यले नेपालमा हरेक वर्ष साउन २४ गते भू–संरक्षण दिवस मनाउने गरिन्छ । जमिनको उर्वराशक्ति कायम राख्नुका साथै प्राकृतिक स्रोत तथा पूर्वाधार संरक्षणमा योगदान पुर्याउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको दिनको सम्झनामा विसं २०३१ सालदेखि साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’का रूपमा मनाउन थालिएको हो । विभागको स्थापनासँगै जिल्लास्तरमा भू–संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो ।विगतका वर्षहरूमा दिवसका अवसरमा फूलजन्य बिरुवा, धुपी, काइयो लगायत विभिन्न प्रजातिका बोटबिरुवा रोप्ने तथा भू–संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।नेपाल भौगोलिक तथा भौगर्भिक अवस्थाका कारण बाढी, पहिरो र भू–क्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको छ । कमजोर भौगर्भिक बनावट, संवेदनशील भू–धरातल तथा जलवायु परिवर्तनका प्रभावका कारण मुलुकले वर्षेनी ठूलो धनजनको क्षति तथा वातावरणीय समस्या व्यहोर्दै आएको छ ।भू–संरक्षणका प्रभावकारी उपाय अवलम्बन गर्दै वन तथा जलाधार क्षेत्रको संरक्षण, वृक्षरोपण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न सके प्राकृतिक विपद्को जोखिम न्यूनीकरणसँगै वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विज्ञहरूले बताउँदै आएका छन् ।




























