
काठमाडौं । बाढी, पहिरो तथा सडक क्षतिका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार बिहान ६ः३० बजेसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध हुनुका साथै केही स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ।कोशी प्रदेशअन्तर्गत भोजपुरमा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ। इलाम नगरपालिका–९ राजदुवालीदेखि झापा हुँदै ताप्लेजुङतर्फ जाने सडकखण्डमा समेत यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा बाढी तथा पहिरोको जोखिमका कारण यातायात सञ्चालनमा रोक तथा प्रतिबन्ध लगाइएको छ। काभ्रेमा बाढीको जोखिमका कारण केही समय सवारी सञ्चालन रोकिएको छ भने मकवानपुरतर्फ रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।सिन्धुपाल्चोकको अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध छ। रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि बाढीका कारण लामो समयदेखि बन्द रहेको छ। रसुवाकै पासाङल्हामु सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध छ।नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि पहिरो तथा बाढीको जोखिमलाई ध्यानमा राख्दै रातिदेखि बिहानसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।गण्डकी प्रदेशअन्तर्गत बागलुङको कालीगण्डकी करिडोर पहिरोका कारण एकतर्फी सञ्चालनमा छ। लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ भने मुस्ताङको बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।त्यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध छ।प्रहरीले बाढी, पहिरो तथा प्रतिकूल मौसमका कारण सडकमा जोखिम बढेको भन्दै सम्बन्धित सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। साथै, स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ।



























