
हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापा मगरलाई शपथ गराएका हुन् ।नवनियुक्त प्रदेश सरकार सात सदस्यीय बनेको छ । नेकपा एमालेबाट किरण थापा मगर मुख्यमन्त्री, भरतबहादुर केसी भौतिक पूर्वाधारमन्त्री र ज्ञानबहादुर तामाङ बिनाविभागीय मन्त्री नियुक्त भएका छन् ।त्यस्तै, नेकपाबाट सरल सहयात्रीलाई आर्थिक मामिला मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।बाँकी तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री थापा मगरले नै सम्हाल्ने बताइएको छ ।यसैबीच, सरकारलाई समर्थन गर्ने विषयमा राप्रपाभित्र विवाद चर्किएको छ । सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्दै प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरेको छ ।राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका सांसद मन्त्री बनेमा उनीहरूमाथि समेत कारबाही गर्ने चेतावनी दिएका थिए । विवादकै बीच राप्रपाका तीन प्रदेशसभा सदस्य प्रदेश सरकारमा मन्त्री बनेका छन् ।



























