
काठमाडौं । नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल बगेपछि यातायात सम्पर्कविहीन बनेको क्षेत्रमा सेनाले वैकल्पिक पुल निर्माण गरेको हो।नेपाली सेनाको टोलीले निरन्तर खटिएर पाँच दिनमा एक्रो ब्रिज जडानको काम पूरा गरेको जनाएको छ। पक्की पुल बगेसँगै देवीघाट हुँदै नुवाकोटसहित आसपासका विभिन्न क्षेत्रमा हुने यातायात प्रभावित भएको थियो।एक्रो ब्रिज जडान सम्पन्न भएसँगै भोलिदेखि पैदलयात्रीका लागि आवतजावत खुला गर्ने तयारी गरिएको छ। यस्तै, पर्सिदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।बाढीले देवीघाटको पक्की पुल बगाएपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो। पुल नहुँदा दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि सर्वसाधारणको नियमित आवागमनसमेत प्रभावित बनेको थियो।बाढीपछि यातायात सम्पर्क सहज बनाउन नेपाली सेनाले तत्काल एक्रो ब्रिज जडानको काम अघि बढाएको थियो। सेनाको टोलीले दिनरात निरन्तर काम गरेपछि छोटो समयमै पुल निर्माण सम्पन्न भएको हो।पुल सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित देवीघाट क्षेत्रको यातायात सेवा क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ। पुल सञ्चालनले स्थानीयवासी, व्यवसायी तथा यात्रुलाई आवतजावतमा ठूलो राहत पुग्ने भएको छ।



























