
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शुक्रबार बिहान करिब ५ः३० बजे बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरबाट करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण राजमार्ग हाल एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।त्यसैगरी, सोही गाउँपालिका–९ को ज्यामिरे क्षेत्रमा पनि पहिरो खसेको छ। लगातार वर्षा भइरहेकाले सडकमा थुप्रिएको लेदो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।गत भदौ १० र १४ गते आएको बाढीका कारण कृष्णभिर क्षेत्रमा सडक कटान भएपछि पृथ्वी राजमार्ग १८ दिनसम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसपछि नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि सडक सञ्चालनमा ल्याइएको थियो।तर, निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम जारी रहेकाले उक्त सडकखण्डमा पुनः यातायात सेवा जोखिमपूर्ण बनेको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ।



























