
काठमाडौं । मनाङको हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य सोमबार बिहानैदेखि तीव्र पारिएको छ ।मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार मृतकमध्ये दुई जनाको शव काठमाडौं ल्याइएको छ भने अन्य दुई जनाको शव मनाङ सदरमुकाम ल्याइएको छ ।हिमपहिरोमा परेका भनिएका ११ जना सकुशल सदरमुकाम आइपुगेका छन् । तर, घटनापछि अझै १० जनाभन्दा बढी सम्पर्कविहीन रहेको अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।उद्धार टोलीलाई हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा परिचालन गरिएको छ । सोमबार अपराह्नसम्ममा खोजी तथा उद्धार कार्यबारे थप विवरण प्राप्त हुन सक्ने जनाइएको छ ।प्रमुख जिल्ला अधिकारी खनालका अनुसार सोमबार बिहान सदरमुकाममा ल्याइएका दुई जनाको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । अन्य दुई जनाको शव भने सदरमुकाममै राखिएको छ ।बेस क्याम्प निर्माण, डोरी टाँग्नेलगायतका कामका लागि हिम्लुङ हिमाल क्षेत्रमा पुगेका एक्सपोर्टेसन र हिमालयन होलिडेज कम्पनीका कामदार हिमपहिरोमा परेका हुन् ।



























