अन्तर्राष्ट्रिय खरिदकर्ताले अत्याधिक किटनाशक औषधी प्रयोग गरिएको भन्दै भारतको चिया फर्काएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अत्याधिक मात्रामा रसायन प्रयोग गरिएको पाइएपछि अन्तर्राष्ट्रिय खरिदकर्ताले भारतीय चिया फर्काएका हुन् ।भारतीय चिया निर्यातक संघ (आईटीईए)का अध्यक्ष अंशुमान कनोरियाले विदेशी मुलुकले भारतीय चिया फर्काउन थालेको बताएका हुन् । उनका अनुसार चिया भरिएको जहाजलाई निरन्तर फर्काउन थालिएको छ । श्रीलंकामा सिर्जना भएको स्थितिको फाइदा भारतीय चिया व्यवसायी उठाउन चाहन्थे । श्रीलंकाको चिया निर्यात हिस्सा घटेपछि त्यसको स्थान ओगट्ने भारतीय व्यवसायीको चाहनामा किटनाशकको अत्याधिक प्रयोग बाधक बनेको छ ।भारतबाट निर्यात गरिएको चिया विदेशी मुलुकको ल्याबमा गुणस्तरहीन प्रमाणित भएको छ । यससँगै भारतबाट चिया बोकेर हिंड्ने जहाजको संख्यामा कमी आएको छ । अध्यक्ष कनोरियाका अनुसार देशमा बेचिने चिया भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणको मापदण्डअनुसार हुनुपर्छ । तर, भारतमा उत्पादित अधिकांश चियामा अत्याधिक किट्नाशकको प्रयोग गर्न थालिएको छ । भारतले सन् २०२१ मा १९.५९ करोड किलो चिया निर्यात गरेको छ ।सन् २०२२ मा ३० करोड किलो चिया निर्यात गर्ने लक्ष्य भारतले लिएको छ । चिया आयात गर्ने अधिकांश देश युरोपियन मापदण्डलाई मान्छन् । तर, भारतमा उत्पादित चियाको गुणस्तर सो अनुसार नभएपछि धमाधम फर्काइन थालिएको छ ।तर, भारतीय चिया उत्पादकहरू विदेशी मुलुकको गुणस्तर मापदण्डलाई मान्नुको सट्टा भारत सरकारसँग मापदण्ड खुकुलो बनाउन लबिङ गरिरहेका छन् । जसले भारतको अत्याधिक चिया निर्यात लक्ष्य प्रभावित बन्ने देखिन्छ । –हिन्दुस्तान डटकमबाट