काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा २० जनाको आवेदन परेको छ । प्राधिकरणको प्राविधिक र लेखातर्फ दुईजना सदस्यका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माग गरेको आवेदनमा कूल २० जनाले आवेदन दिएका हुन् ।
यसअघि जेठ ५ गते बिहीबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले जेठ १८ गतेबाट रिक्त हुने प्राधिकरण बोर्डको दुई सदस्य पदमा दरखास्त माग गरेको थियो ।
बुधबारसम्मको समयावधिमा कूल २० जनाले आवेदन दिएका छन् । जसमा प्राविधिकतर्फ १४ जना र लेखातर्फ ६ जनाले आवेदन दिएका छन् ।
मन्त्रालयका उपसचिव मुकुन्द शर्माका अनुसार प्राविधिक सदस्यमा आवेदन दिनेहरूमा विरेन्द्रकुमार मिश्र, डा. राजिव सुब्बा, रविन्द्र झा, सागरनाथ उपाध्याय, रमेशप्रसाद जोशी, उज्ज्वल भक्त प्रधानाङ्ग, सुरेन्द्र श्रेष्ठ, सन्तोष भट्टराई रहेका छन् ।
त्यस्तै पवन पाठक, हुकुम बहादुर बुढा, अरुण मल्ल, डा. भोजराज घिमिरे, लक्ष्मीप्रसाद यादवले आवेदन दिएका छन् ।
आवेदकमध्ये मिश्र यसअघि सञ्चार मन्त्रालयको सहसचिवबाट अवकाशप्राप्त व्यक्ति हुन् । त्यस्तै लक्ष्मीप्रसाद यादव सूचना प्रविधि विभागका महानिर्देशकबाट अवकाश प्राप्त व्यक्ति हुन्।
त्यस्तै डा. सुब्बा पूर्वप्रहरी डीआईजी तथा हाल इन्फोडेभलपर्स कम्पनीका सीटीओको रुपमा कार्यरत छन् ।
त्यस्तै लेखातर्फ आवेदन दिनेमा गोविन्दप्रसाद गैरे, लक्ष्मीप्रसाद पण्डित, कुनाल कायाल, सुनिल जाकिबन्जा र गोकर्ण सिटौला र टिएन आचार्य रहेका छन् ।
आवेदकमध्ये टीएन आचार्य हालै प्राधिकरणको सदस्यबाट अवधि सकिएर बाहिरिएका सदस्य हुन् ।
यसअघि गएको चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा प्राधिकरणको बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।
सोही समितिले प्राधिकरणमा प्राविधिक र लेखा तथा लेखापरीक्षण गरी दुई सदस्य नियुक्तिका लागि दरखास्त माग गरेको हो ।
योसँगै अब सोही समितिले आवेदन दिनेमध्येमा व्यवसायिक योजना र अन्तरवार्ताका आधारमा दुवै पदका लागि तीन/तीन जना सिफारिस गरेर सरकारलाई बुझाउनेछ ।
त्यसमध्येबाट सरकारले दुवै पदका लागि एक/एक जना छनोट सदस्यमा नियुक्तिका लागि सिफारिस गर्नेछ ।