सरकारले अमेरिकी सैन्य कार्यक्रम स्टेट पार्टनशिप प्रोग्राम (एसपीपी) मा नेपाल संलग्न नहुने स्पष्ट गरेको छ ।
बिहीवार संसदमा प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहदुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल कुनै सैन्य गठबन्धनको सदस्य नबन्ने बताए ।‘हामी कुनै सैन्य गठबन्धनको हिस्सेदार बन्न सक्दैनौं, एसपीपीमा संलग्न हुँदै हुँदैनौं, हिजो जे बोल्यौं, त्यही गर्यौं, आज पनि जे भन्छौं, त्यही गर्छाैं,’ विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफपछिको स्पष्टीकरणमा खाँणले भने ।नेपाल एसपीपीमा संलग्न नभएको र कुनै सेनासँग सैन्य गठबन्धन नगर्ने उनले स्पष्ट गरे । ‘अर्को सेनासँग सन्धी गरेर नेपालमा सेना आउने, नेपालको व्यारकेमा विदेशी रहने, टुँडिखेलमा आएर विदेशी सेनाले परेड खेल्ने बिल्कुलै हुनै नसक्ने कुरा हो,’ मन्त्री खाँणले भने ।
त्यसअघि सांसदहरूले एसपीपीमा सहभागिताबारे सरकारको जवाफ माग गरेका थिए । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नभएका कारण खाँणले जवाफ दिएका थिए ।