काठमाडौं । गायिका दिलमाया सुनारको मृत्यु भएको तीन दिन बितिसक्दा पनि उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन् । सुनारको मृत्यु, हत्या वा आत्महत्या के बाट भएको हो भन्ने प्रहरीले टुंगो लगाउन सकेको छैन् ।यद्यपी सुनारको घाँटीमा निलोडाम देखिएको प्रहरीले जनाएको छ। उनको हत्या आरोपमा पक्राउ परेका सुर्य श्रेष्ठले शुक्रबार राति दिलमायासँगै सुतेको स्वीकारेका छन् । उनले साझ सँगै सुतेको, ब्युँझदा दिलमाया झुण्डिएको अवस्थामा देखेको र आफुले उनलाई तल झारेको समेत प्रहरीसमक्ष बयान दिएका छन् ।ढोका खुल्ला भएको अवस्थामा दिलमाया शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । मृत्यु हुनुअघि दिलमायाले फेसबुकमा आफु मर्न लागेको र त्यसको दोष कसैलाई पनि नदिन भन्दै स्टाटस लेखेकी थिइन् । दिलमायाका बुवाले श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएका छन् ।