काठमाडौं : कोरोना भाइरस संक्रमण अन्त्य नहुँदै मंकिपक्सको जोखिम बढेको छ। अफ्रिकासँगै युरोप र अमेरिकामा पनि मंकिपक्स गराउने नयाँ संक्रमणले पिरोल्न थालेको छ। बिफरसँग मिल्दोजुल्दो यसको संक्रमण जोखिममा नेपाल पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘अफ्रिका, युरोप वा अमेरिकाभन्दा टाढा छौं। तर, रोगले भूगोल छुट्ट्याउँदैन, ‘मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, ‘मानिसबाट मानिसमा तुलनात्मक रूपमा न्यून संक्रमण हुने भनिएको छ। थप विस्तृत विवरण आएपछि मात्र थप कुराहरू भन्न सकिन्छ।’मंकिपक्स कोरोना भाइरसजस्तो संक्रामक नभएको विज्ञहरू बताउँछन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १४ वटा मुलुकमा फैलिसकेको जनाएको छ। ८० भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ। गत वैशाख २४ गते बेलायतमा संक्रमण पुष्टि भएपछि चासो र चिन्ता बढाएको हो। स्वास्थ्य मन्त्रालयले डब्लूएचओसँग समन्वय गरिरहेको डा. अधिकारीले बताए। ‘संक्रमणको विश्लेषणका आधारमा थप निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको छैन। चिन्ताजनक अवस्था भएमा सर्वसाधारणलाई जानकारी गराउँछौं,’ उनले भने।अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल र कतिपय युरोपेली देशमा संक्रमण पुष्टि भइसकेको डब्लूएचओले जनाएको छ। युरोपका बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्विडेनमा पनि संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण मंकिपक्स ः नेपालमा जोखिम कति ?महाशाखाका प्रमुख डा. चुमनलाल दासका अनुसार, सार्क मुलुकमा पनि संक्रमण देखिएको छैन। ‘कोरोना भाइरस जस्तो व्यापक संक्रमण छैन,’ उनले भने, ‘तै पनि सचेत हुनै पर्छ। भारतमा संक्रमण पुष्टि भयो भने निगरानीलाई झन् कडा बनाउनुपर्छ।’ कोरोनाविरुद्ध स्थापित हेल्थ डेस्कहरू यथावत् रहेकाले मंकिपक्सको निगरानीसमेत गर्ने गरी स्वास्थ्यकर्मीलाई परिचालन गरिएको डा. अधिकारीले बताए।
कसरी सर्छ ?
संक्रमित व्यक्तिको घाउ, हाच्छिउँ गर्दा निस्कने थुक वा तरल पदार्थको माध्यमबाट फैलिएको पाइएको छ। यो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ। मध्य र पश्चिमी अफ्रिकी मुलुकको जंगली स्थानमा पाइने (बाँदर वा मुसा)बाट संक्रमण सुरु भएको अनुमान छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, स्तनधारी जनावरबाट संक्रमण सुरु भएको जनाइएको छ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार, संक्रमणको सुरुवात भएको जनावरको यकिन भइसकेको छैन। ‘अहिलेसम्म यहीँ जनावरबाट यसैगरी संक्रमण हुन्छ भन्न सकिने अवस्था छैन,’ डा. अधिकारीले भने, ‘संक्रमित जनावरको शरीरबाट निस्केका पदार्थसँग प्रत्यक्ष सम्पर्क भएमा मानिसमा पर्छ। संक्रमित मानिसबाट अर्को मानिसमा पनि सर्छ।’ डा. पुनका अनुसार समलिंगीमा पनि संक्रमण पुष्टि भएको छ।कोरोनाभन्दा कम संक्रामक सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार, मंकिपक्स विफरको पारिवारिक सदस्य मानिएको छ। विफर रोग लगाउने भाइरसको प्रजातिबाट यो रोग सर्दछ। तर, यो कोरोना तथा बिफरभन्दा काम घातक पाइएको छ।संक्रमण पछि विभिन्न असरहरू देखिने गर्छ। ज्वरो आउने, टाउको, ढाड दुख्ने, मांसपेसी दुख्ने, शरीर सुन्निने, हत्केला र पैतलामा डाबरहरू देखिने र छाला फुट्नेलगायतका लक्षणहरू देखिन्छन्। डा. पुन भन्छन, ‘अनुहार र हात खुट्टामा बिमिरा (फोका)हरू बढी देखिन्छन्।’ एक व्यक्तिबाट अर्को व्यक्तिमा लक्षण देखिने अवधि दुईदेखि तीन सातासम्म हुने डा. अधिकारीले बताए। डा. दासका अनुसार छाला रोग विशेषज्ञले मंकिपक्स संक्रमणको पहिचान गर्छन्। ‘बिरामीको फोका, लुगाफाटोलगायतमा संक्रमण हुँदा सर्ने जोखिम बढी छ,’ उनले भने। कतिपय संक्रमितको ज्यानसमेत गएको डब्लूएचओले जनाएको छ। डा. अधिकारीका अनुसार १० प्रतिशत व्यक्तिमा स्वास्थ्य जटिलता भएर मृत्यु हुन सक्छ।कसरी जोगिने ?
डा. अधिकारीका अनुसार, संभावित जोखिम भएका मुलुकबाट नेपाल आउने व्यक्तिहरूमाथि निगरानी गर्नुपर्ने र क्वारेन्टाइनमा राख्नुपर्छ। कोरोना संक्रमणबाट अपनाइएको स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिनुपर्ने उनकोे सुझाव छ।डा. पुनका अनुसार संक्रमितले प्रयोग गरेकोे बिच्छ्यौना, लुगाफाटा प्रयोग गर्दा संक्रमण सर्न सक्छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. अधिकारीले कोरोना संक्रमणबाट जोगिन अपनाइएको स्वास्थ्य मापदण्ड मंकिपक्सबाट जोगिन पनि मद्दत गर्ने बताए। ‘कोरोनाबाट जोगिन अपनाइएका व्यवहार नै पर्याप्त छ। मास्कको प्रयोग, हातको सरसफाइमा ध्यान दिनुपर्छ। साबुन पानीले हात धुँदा भाइरस निस्क्रिय हुन्छ,’ डा. अधिकारीले भने।सन् १९७० देखि नै अफ्रिकाका १० मुलुकमा यो भाइरस संक्रमण थियो। त्यस्तै सन् २००३ मा अमेरिकामा पनि प्रकोप फैलियो। डा. अधिकारीले भने, ‘हाम्रा लागि नयाँ भए पनि विश्वका लागि नयाँ होइन।’ बिफरका लागि प्रयोग हुने खोप मंकिपक्समा पनि प्रभावकारी मानिएको छ। यो खोप ८५ प्रतिशत प्रभावकारी पाइएको डब्लूएचओले जनाएको छ। सन् १९८० मा बिफर उन्मूलन भएको घोषणा डब्लूएचओले नै गरेको थियो।लक्षणहरू- ज्वरो आउने
- टाउको दुख्ने
- ढाड दुख्ने
- मासंपेशीको दुखाई
- शरीर चिलाउने
- हात, खुट्टामा बिमिरा (फोका) आउने
- ग्रन्थीहरू सुन्निने
- हत्केला र पैतलामा डाबर देखिने
- छाला फुट्ने
- बिरामी वा मरेका जनावरको सम्पर्कबाट टाढा रहने
- मास्क प्रयोग गर्ने
- साबुन पानीले हात धुने