विराटनगर - प्रदेश १ को नाम लिम्बुवान किराँत राख्नुपर्ने मागसहित आज विराटनगरमा बृहत प्रदर्शन हुने भएको छ ।संघीय लोकतान्त्रिक मञ्च र लिम्बुवान किराँतआवद्ध विभिन्न ३३ बढी संघ संस्थाले विराटनगरमा प्रदर्शनको तयारी गरेका हुन् । दिउँसो १ बजे विराटनगरको जनआन्दोलन चोकमा उनीहरुले शान्तिपूर्ण तर दबाबमूलक प्रदर्शन हुने बताएका छन् ।
प्रदेशको नाम पहिचानका आधारमा नभएमा सशक्त विद्रोह गर्ने चेतावनी दिएका आन्दोलनकारीहरुमध्ये आज संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन,किराँत समर्थक रकम चेम्जोङ,लेखक भवानी बराललगायतले सम्बोधन गर्ने बताइएको छ । आयोजकका अनुसार प्रदेशका विभिन्न जिल्लाबाट विभिन्न झाँकी र भेषभुषासहित पहिचानवादीहरु विराटनगरमा भेला हुने क्रम शुरु भएको छ ।प्रदर्शनमा जनप्रतिनिधिहरु पनि सहभागी हुँदैछन् । प्रदेशको नामाकरण किराँत प्रदेश राख्न गत सोमबार किराँतराई यायोक्खाले पनि विराटनगरमा बृहत प्रदर्शन गरेपछि मुख्यमन्त्री राजेन्द्रकुमार राई र सभामुखलाई ज्ञापनपत्र बुझाइएको थियो । मंगलबार विराटनगरमा किराँत सभ्यता पुस्तक विमोचन गर्दै प्रदेशको नामाकरण किन किराँत ? भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।मुलुकका अन्य छ वटा प्रदेशले नामाकरण गरिसकेका छन् । तर कार्यकाल सकिन लाग्दा पनि प्रदेश १ ले आफनो नामाकरण अझै गर्न सकेको छैन । प्रदेश सभाको अन्तिम अधिवेशन यहि साउन महिनाभित्र अन्त्य हुँदैछ । यसैले अब पनि नामाकरण नभएमा प्रदेश १ आफनो न्वारान गर्न असमर्थ हुने निश्चित छ ।पाँच वर्षको कार्यकालमा नाम राख्न नसकेका दल र सांसदहरुलाई अगामी मंसिरमा हुने निर्वाचनमा जनतामाझ मत माग्न जान गाह्रो अवस्था बन्दैछ । त्यसैले दलहरुले नामाकरण प्रस्ताव जसरी पनि प्रक्रियामा लगेर छलफल गराउने योजना बनाएका छन् । यसका लागि प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले भोलि नाममा सहमति जनाउन सर्वदलीय बैठक बोलाएका छन् ।मुख्य प्रतिपक्षी दल एमालेले कोशी वा सगरमाथा,काँग्रेसले सप्तकोशी,माओवादी केन्द्र र एकीकृत समाजवादीले किराँत र जनता समाजवादीले किराँत,लिम्बुवान वा शेर्पालुङमध्ये एक र संघीय लोकतान्त्रिक मञ्चले लिम्बुवान किराँत नामाकरणको माग गरेका छन् । केही धार्मिक संघ संस्था र व्यक्तिले प्रदेशको नाम कौशिकी हुँदा राम्रो हुने सुझाव दिएका छन् ।