
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीसँग खुमलटारस्थित निवासमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताउनुभएको हो ।प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायतका विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ, ।’’रुस–युक्रेन युद्ध र कोभिड–१९ का कारणले विश्वव्यापीरुपमै अर्थतन्त्रमा जोखिमको अवस्था सिर्जना भएको प्रधानमन्त्री दाहालको भनाइ छ । वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेको समेत प्रधानमन्त्री दाहालले बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायतका विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ, ।’’उहाँले भन्नुभयो, ‘‘सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ ।’’प्रधानमन्त्रीसँगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे ध्यानाकर्षण गराउनुभएको थियो ।नवनियुक्त प्रधानमन्त्री दाहाललाई चेम्बरले आठ बुँदे सुझावसमेत दिएको छ । बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातावरण बन्न नसकेको अध्यक्ष मल्लले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पुरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्दछ । दिगो आर्थिक विकास र स्थायीत्वका लागि लगानीको वातावरण बन्न आवश्यक छ,।’ मुलुकको पुँजिगत खर्च समयमै हुन नसक्दा पनि अर्थतन्त्रले लय समाउन नसकेको अध्यक्ष मल्लले बताउनुभयो ।बाँझो जमिनलाई सदुपयोग गरी कृषि उत्पादनमा आधुनीकिकरण मार्फत मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने अध्यक्ष मल्लले बताउनुभयो । कृषि कर्जा, खेत किन्नेलाई नभई खेती गर्नेले पाउनुुपर्ने व्यवस्था मिलाउन पनि अध्यक्ष मल्लले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो । स्वदेशमा रहेका प्राकृतिक श्रोत र साधनको प्रर्वद्धन गरी निर्यात वृृद्धि गर्न समेत अध्यक्ष मल्लले आग्रह गर्नुभयो । चेम्बर अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरेर कर राजश्वको दायरामा ल्याउनुपर्ने बताउनुभएको जानकारी नेपाल चेम्बर अफ कमर्सले दिएको छ ।चेम्बरका तर्फबाट अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल, उपाध्यक्षहरु सुरेन्द्र श्रेष्ठ, दिपक श्रेष्ठलगायतले नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई एवम् शुभकामना दिएका थिए । SOURCE ;GORKHAPATRA




























