
सरकारले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भएर जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तयारी अगाडि बढाएको छ । चौधरीको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालयमा पुगेको छ ।टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।सोहीअनुसार राष्ट्रपतिबाट गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते चौधरीलाई आम माफी दिने सरकारको तयारी छ ।अब राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्बाट निर्णय गराई राष्ट्रपति कार्यालयले निर्णय गरेपछि मात्र कैद माफी मिनाहा हुन्छ ।




























