
काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक जना राज्यमन्त्रीविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको छ ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार काँग्रेस नेता गच्छदार चार जना पूर्वमन्त्रीको नाममा पक्राउ पुर्जी जारी भएको जानकारी गोरखापत्र अनलाइनलाई दिनुभयो ।उहाँका अनुसार अदालतले तत्कालीन भौतिक योजना मन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टकला र भूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।यस प्रकरणमा ब्युरोले यस अघि २० आरोपीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्व उपप्रधानमन्त्री, तीन पूर्व मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।




























