विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा झापा विर्तामोड निवासी डा. राजेन्द्र अधिकारी नियुक्त भएका छन् । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले डा. अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।अधिकारीका अनुसार बैठकले मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने, कोशी प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलालाई क्यानडा जान कूटनीतिक राहदानीका लागि प्रधानमन्त्री कार्यालयमा सिफारिस पठाउने निर्णय गरेको छ ।साथै अधिकारीले वित्तीय हस्तान्तरणको सम्बन्धमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका सोलु, खाँदबारी नगरपालिका सङ्खुवासभा र ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आप्रवासन केन्द्र स्थापना तथा सञ्चालनका लागि पाँच लाख दुई हजारका दरले रकम पठाउने निर्णय पनि सोमबारको बैठकमा भएको जानकारी दिए ।