
पाल पत्रकार महासंघ र नेपाल नेत्रज्योति संघबीच पत्रकारको आँखासम्बन्धी स्वास्थ्य उपचार गर्नका लागि सम्झौता भएको छ । पत्रकार महासंघको कार्यालयमा बुधबार भएको एक कार्यक्रमकाबीच दुबै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रविधिको विकाससँगै लामो समय कम्प्युटर लगायतका उपकरणको प्रयोगले पत्रकारहरुमा आँखाको स्वास्थ्य समस्या देखिन थालेको बताए । उनले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभवान्वित हुने बताए । नेत्रज्योति संघ नेपालका अध्यक्ष प्रा.डा.चेतराज पन्तले जनचेतनाको अभावले आँखासम्बन्धी समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेको बताए । निको हुने आँखाका रोगीकोसमेत उपचार हुन नसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागेको उनको भनाइ थियो । सम्झौतापत्रमा उल्लेख भएअनुसार महासंघको सवन्वयमा ६ वटा प्रदेशमा फागुनभित्र र दुबै संस्थाको स्थापना दिवसको छेको पारेर चैत महिनामा काठमाडौं उपत्यकामा रहेका पत्रकारका लागि निःशुल्क आँखा शिविर आयोजना गर्ने उल्लेख छ । शिविरमा पत्रकारका लागि आवश्यक चश्मासमेत निःशुल्क उपलब्ध गराइने जनाइएको छ । सम्झौतापत्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले हस्ताक्षर गरेका छन् । २०३५ सालमा स्थापना भएको गैरनाफामूलक संस्था नेपाल नेत्रज्योति संघ नेपालको आँखा स्वास्थ्यको क्षेत्रमा स्थापित संघका ४४ वटा जिल्ला शाखा, २७ वटा आँखा अस्पताल र १५० वटा आँखा उपचार केन्द्र रहेका छन् । कार्यक्रममा महासंघका सचिव गोविन्द चौलागाई, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, लेखा समिति संयोजक लेखनाथ न्यौपाने र नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, कोषाध्यक्ष द्रोण प्रसाद गुरागाई लगायतको उपस्थिति रहेको थियो ।Source:Madhyanha




























