
जापानमा हुने २० औं एशियाली खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नका लागि विशेष प्रशिक्षण हुने भएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आईतवार पत्रकार सम्मेलन गरी सो खेलकुद प्रतियोगितामा स्वर्णसहित दोहोरो अंकको पदक हासिल गर्ने लक्ष्यसहित कराँते, तेक्वान्दो, बक्सिङ, उसु र जुडो खेलका लागि यही माग १५ गतेबाट असार मसान्तसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बताउनु भयो । राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित खेल क्षेत्रका निकायसँग छलफल गरी स्वर्ण पदक जित्ने सम्भावना भएका खेलहरुको विशेष प्रशिक्षण सञ्चालन गर्न लागिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।सदस्यसचिव घिसिङले भन्नुभयो, ‘परिणामले हामीलाई हालसम्म स्वर्ण पदक विजेता बनाएको छैन । त्यसकारण हामीले स्वर्णसहित दोहोरो अंकको पदक ल्याउने लक्ष्य सहितको यो विशेष प्रशिक्षणको कार्यक्रम घोषणा गरिएको हो । कुनैपनि अर्गनाईजेशनले आफ्नो कार्यक्रम बनाई राख्दा, उसले आफ्नो योजना बनाई राख्दा उसको आफ्नो लक्ष्य किटान गर्नुपर्दछ । त्यो लक्ष्य आज हामीले किटान गरेका छौं । मलाई लाग्छ–यो लक्ष्य हामी सम्पूर्ण संघका साथीहरु, खेलाडी, प्रशिक्षक, तपाई सम्पूर्ण खेलकुकर्मी साथीहरु, पत्रकार साथीहरु, हामी परिषद् सम्पूर्ण युनिट सबै निकाय इमान्दार भएर लाग्यौं भने हामीले यो लक्ष्य हासिल गर्नसक्छौं ।’




























