सरकारले खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने जनाएको छ ।सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिइने बताउनुभयो । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने सरकारको कार्यक्रममा उल्लेख छ । त्यस्तै कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने राष्ट्रपति पौडेलले बताउनुभयो । विद्यालयस्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने र बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गरिने सरकारको कार्यक्रममा उल्लेख छ । खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिने, अन्तराष्ट्रियस्तरका खेलुकद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था गरी उनीहरूको मनोबल उच्च राखिने राष्ट्रपति पौडेलले बताउनुभयो ।त्यस्तै सरकारको कार्यक्रममा नेपालको मौलिक एवम् परम्परागत खेलहरूको प्रवर्द्धन गर्न तथा प्रतिभावान खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिने, आगामी आर्थिक वर्षमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने उल्लेख छ ।