निःवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सुधारको आधार तयार बनाएको दाबी गर्नुभएको छ ।बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निःवर्तमान अर्थमन्त्री महतले प्रधानमन्त्रीले लगाएको जस्तो अर्थतन्त्र सुधारको काम नगरेको आराप गलत भएको बताउनुभएको हो । उहाँले अर्थतन्त्र संकटमा भएको बेला अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेर अर्थतन्त्रलाई लयमा ल्याउने काम आफूले गरेको जिकिर गर्नुभयो । उहाँले अर्थतन्त्र लयमा ल्याउने काम गरेकाले आर्थिक वृद्धि र हुने अवस्थाको सिर्जना हुने आधार समेत तयार बनाएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्र सुधारउन्मुख अवस्थामा ल्याउने काम ११ महिनामा गर्न सफल भएको भन्दै प्रधानमन्त्रीले आरोप लगाउने भन्दा पनि तथ्याङ्कले देखाउने दाबी गर्नु भयो । उहाँले अर्थतन्त्रमा देखिएका विकृतिहरु,बजेट प्रणालीमा देखिएका अनुशासनहिन्ताहरुलाई निरन्तरता दिएकाले अपेक्षा भन्दा बढी काम गर्न नसकको बताउनु भयो । डा. महतले बजेट प्रणालीमा अनुशासन कायम गर्ने काम गरेको पनि बताउनु भयो । उहाँले मुलुकमा विदेशीहरुले लगानी गर्ने राम्रो वातावरण बनाएको पनि दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘आफूले अर्थतन्त्रलाई लय दिनेगरी काम गरेको थिए । त्यसको आधारमा आगामी दिनमा आर्थिक वृद्धिको आधार सिर्जना भएको थियो । त्योतर्फ अर्थतन्त्रउन्मुख पनि थियो । तर जुन खालको प्रवृत्तिले अनुशासन कायम नगरी अर्थतन्त्रमा देखिएका विकृतिहरु,बजेट प्रणालीमा देखिएका अनुशासनहिन्ताहरुलाई निरन्तरता दिएर अपेक्षा भन्दा बढी काम गर्न सक्दैनौं । बजेट प्रणालीमा अनुशासन कायम गर्ने काम गरेका थियौं । अर्थतन्त्र सुधारको आधार बन्दै थियो । विदेशीहरुले नेपालमा लगानी गर्ने राम्रो वातावरण बन्दै थियो । विश्व बैंकको ठूलो सम्मेलन नेपालमा हुँदै थियो । अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक हुँदै थिए । तर प्रधानमन्त्रीले त्यसबाट आफू खुसी भइन भन्नु निधार असत्य हो । अर्कै आशयका साथ यस्तो भन्नु गलत हो । यसले उल्टो परिणाम निस्कन्छ । प्रधानमन्त्रीले लिएको निर्णय देश र जनताको लागि उपयुक्त होइन । राजनीतिमा विश्वास भन्ने नहुँदो रहेछ भन्ने प्रधानमन्त्रीले प्रमाणित गर्नुभयो ।’
उहाँले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक हुँदा पनि तर प्रधानमन्त्रीले त्यसबाट आफू खुशी भइन भन्नु निधार असत्य भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले लिएको निर्णय देश र जनताको लागि उपयुक्त नभएको भन्दै राजनीतिमा विश्वास नहुने सन्देश प्रधानमन्त्रीले प्रमाणित गरेको आरोप लगाउनु भयो ।