काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ ।प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएपनि फुटबल लगायतका केही खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् ।फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ । पेरिस ओलम्पिकले अहिलेसम्मकै फरक उद्घाटन समारोह गर्ने तयारी गरेको छ ।फ्रान्सको मौसम विज्ञान विभाग, मेटियो फ्रान्सले शुक्रबार पानी पर्ने भविष्यवाणी गरेको छ । दिउँसो मौसम सफा हुने भएपनि उद्घाटन कार्यक्रम हुने भएकाले साँझ फेरि पानी पर्ने सम्भावना छ । तर पानी परे पनि उद्घाटन कार्यक्रम निर्धारित समयमै हुनेछ ।यसअघि पेरिसमा सन् १९०० र सन् १९२४ मा पनि ओलम्पिक आयोजना भएको थियो । पेरिस ओलम्पिकको उद्घाटन समारोहअघि नै दुई खेल सुरु भइसकेका छन् । फुटबल र रग्बीको स्पर्धा भने जुलाई २४ तारिखमै सुरु हुनेछ । यी दुई खेलका प्रतिस्पर्धा लामो समयसम्म चल्ने भएकाले उद्घाटन समारोहअघि नै खेलाउन थालिएको हो ।ओलम्पिकको उद्घाटन समारोहमा चर्चित गायिका लेडी गागा र सेलिन डियोन पनि प्रस्तुति दिनेछन् । पेरिस ओलम्पिकमा नेपालमा ४ खेलका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।ओलम्पिकका लागि पेरिसमा मात्र १५ खेल स्थल छन् । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन हुने छ । अन्य खेल पेरिस आसपासका सहरमा हुने छ । १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुने छन् । पेरिस ओलम्पिक आयोजनाको आधिकारिक खर्च अहिले ९.६ बिलियन डलर रहेको छ ।