
काठमाडौं । घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको सहज जित निकाल्दै नेपाली युवा महिला क्रिकेट टिम आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ ।
नेपाली यू–१९ महिला क्रिकेट टिम पहिलोपटक इतिहास रच्दै विश्वकपमा छनोट भएको हो ।यूएईको सेभेन डिस्ट्रिक मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा पूरा गरेसँगै विश्वकप यात्रा तय गरेको हो । विश्वकपमा छनोट हुन आज नेपालले यूएईविरुद्ध १६.२ ओभरमा जित निकाल्न पर्ने समीकरण थियो । समीकरणभन्दा अघि नै जित निकालेसँगै नेपाली युवा महिला टिम यू–१९ विश्वकपमा छनोट भएको हो ।नेपालको जितमा ओपनर साना प्रविनले अविजित ३५ रन बनाइन् । उनले ४२ बलमा एक चौका प्रहार गरिन् । यस्तै, कप्तान पुजा महतोले २१, सोनी पाख्रिनले १३ र सवित्री धामीले १२ रन थपिन् । यूएईकी मेहक ठाकुरले दुई विकेट लिएकी थिइन् ।त्यसअघि टस जितेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो । यूएईकी समाइरा धर्निधर्काले ३१ रन बनाएकी थिइन् । रिनिथा रजिथले २० र इन्दुजा नन्दाकुमारले १० रन थपिन् । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका चार ब्याटर शून्यमा आउट भएका थिए ।नेपालबाट कृष्मा गुरुङले चार विकेट लिएकी थिइन् । चार ओभर बलिङ गरेकी कृष्माले १३ रन खर्चिइन् । सिमा केसी र रिया शर्माले समान दुई विकेट लिँदा रचना कुमारी चौधरीले एक विकेट हात पारिन् ।जितसँगै नेपालले यूएईलाई नेट रनरेटमा पछि पारेको हो ।




























