
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।जनकपुरको जितमा मोइन अलीले अविजित ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, सैफ हसनले अविजित ४० रन बनाए । दुवैले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ गोर्खाजले १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो ।काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, राशिद खानले १७, समित पटेलले १३ र समित महर्जनले १० रनको योगदान दिए ।जनकपुरका बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सैफ हसनले २ विकेट लिँदा हरमित सिंह, मोइन अली र ललित राजवंशीले समान १ विकेट हात पारे ।पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ । यता, काठमाडौँ गोर्खाजले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।एनपीएलअन्तर्गत बिहीबार नै कर्णाली याक्स र विराटनगर किंग्सबीच अर्को खेल हुँदैछ ।




























