
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । विराटनगर पाँचौँ स्थानमा रहँदै आएको छ । यस्तै, पोखरा पाँच खेलमध्ये एक खेलमा मात्र जित निकाल्दै चार खेलमा पराजित भएको छ । पोखरा अंक तालिकाको पुछारमा रहेको छ ।यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् ।अंक तालिकामा कर्णाली सातौँ स्थानमा रहेको छ भने लुम्बिनी तेस्रो स्थानमा छ । दुवै टोली आजको खेल जित्दै आफ्नो स्थान सुधार गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।



























