
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले एसिया कपमा टेष्ट राष्ट्र भारत र पाकिस्तानसँग खेलेको छ । घरेलु मैदानमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।एसिया कपमा नेपालले पहिलो खेल आयोजक पाकिस्तानसँग खेलेको थियो । विश्व नम्बर एक मुलुक पाकिस्तानसँग नेपाल ठूलो रन अन्तरले पराजित भएको थियो । २३८ रनको लक्ष्य पछ्याउँदै नेपालले पाकिस्तानविरुद्ध १०४ रनमै अलआउट भएको थियो ।तर अर्को बलियो मुलुक भारतसँग भने सम्मानजनक स्कोर बनायो । पल्लाकाले स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २३० रनको सम्मानजनक स्कोर बनाएको थियो । एक दिवसीय क्रिकेटमा नेपालले भारतविरुद्ध बनाएको स्कोर १९औं ठूलो हो ।सधैं ब्याटिङमा चुक्दै आएको नेपालले विश्वविजेता एवम् एसिया कपमा सर्वाधिक सफल भारतविरुद्ध बनाएको यो स्कोरले नेपाली क्रिकेट समर्थकलाई ठूलो उत्साह दिएको छ । भारतले अहिलेसम्म सात पटक एसियाकप जितिसकेको छ ।अझ विश्व क्रिकेटमा सर्वाधिक शक्तिशाली मुलुक भारतविरुद्ध नेपालका ब्याट्सम्यानहरुले हिम्मतका साथ खेलेका थिए । त्यसका लागि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले बलियो साझेदारी गरे । पावर प्लेमा भुर्तेल र शेखले ६५ रनको साझेदारी गरेका थिए । भुर्तेलले २५ बलमा बिस्फोटक ब्याटिङ गर्दै ३८ रन बनाए ।अर्का ओपनर आसिफले भारतविरुद्ध अर्धशतक नै बनाए । ९७ बलमा आसिफले आठ चौकाको मद्दतमा ५८ रन बनाए । नेपालका लागि सोमपाल कामीले महत्वपूर्ण ब्याटिङ गरे । उनले दुई छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाएका थिए । नेपालका लागि दिपेन्द्रसिं ऐरीले २९, गुल्शन झाले २३, सन्दीप लामिछानेले ९, भीम सार्कीले ७, रोहितकुमार पौडेलले ५, कुशल मल्लले २ र करण केसीले २ रन जोडे ।भारतविरुद्ध ४८.२ ओभर खेल्नु आफैमा महत्वपूर्ण थियो । तर बर्षाका कारणले भारतले २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पायो । ओपनर रोहित शर्मा र शुभमन गिलले बलियो साझेदारी गर्दा नेपाल १० विकेटले पराजित भए । भारतले लक्ष्य भेटाउन २०.१ ओभर खेल्नुपरेको थियो ।नेपालले भारतसँग हारेसँगै एसिया कप प्रतियोगिताबाट बाहिरिए पनि पाकिस्तान र भारतसँग सम्झनालायक इनिङ खेले । विश्व स्तरीय पाकिस्तानका ६ ब्याट्सम्यानलाई आउट गरेको नेपालले भारतका बलरहरुविरुद्ध हिम्मतका साथ स्कोर बनाए ।एसियाकपलाई नेपालले टेस्ट मुलुकहरुसँग प्रतिस्पर्धा गर्ने नयाँ यात्रा अनि विश्व क्रिकेटमा एक्पोजरका रुपमा लिएको थियो । नभन्दै नेपालका खेलाडीहरुले अनुभव, योग्यता र बरियतामा धेरै माथि रहेका मुलुकहरुसँग हिम्मतका साथ खेले ।




























