अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले बैचारिक–सैद्धान्तिक तथा संगठनात्मक मतभेदका कारण पार्टी विभाजन गर्नुपरेको जनाएको छ । .बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपा अध्यक्ष राइले सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वको नीतिबिपरित हुने गरि अध्यक्षात्मक प्रणालीमा एकल निर्णय भएकाले पार्टी बिभाजन हुन पुगेको बताउनुभएको हो । पार्टीबाट भएगरेका निर्णयभन्दा फरक कार्यान्वयन हुने गरेको, पार्टी नेतृत्वको व्यवहारबाट क्षेत्रीय चरित्रमा सीमित बनाउने काम भएको उहाले बताउनुभयो ।उहाले संघीय ढाँचाको पार्टीलाई व्यवहारमा केन्द्रीकृत रुपमा चलाएको र जिल्ला पालिकासम्म हस्तक्षेप भएको आरोप लगाउनुभयो । अध्यक्ष राईले महाधिवेशन नै अनियमित ढंगले कब्जा गर्नेगरि अमेरिका उड्नुअघि उपेन्द्र यादवले परिपत्र जारी गरेको भन्दै त्यसले पनि विष्फोटक स्थिति बनाएको धारणा राख्नुभयो ।उहाले पार्टी नेतृत्वकै कारण जनतामा जसपा नेपालको आकर्षण घट्दै गएको र शीर्ष नेताहरु चूनाव जित्नका लागि गठबन्धनको साहारा लिनुपरेको बताउनुभयो । आफुहरु मुलुकमा स्थीरता कायम गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको र सरकारलाई दिएको समर्थन कायमै रहेको उहाले बताउनुभयो ।त्यस्तै राईले आफुहरुले संवैधानिक मूल्यमान्यता अनुसार निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएको र आयोगले पनि सोहि अनुसार निर्णय गरेको भन्दै अदालत जान जसपा नेपाललाई चूनौति दिनुभयो ।