
काठमाडौं, ३ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् ।आज (बिहीबार) आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रियालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने आवश्यकत्ता औंल्याए ।उनले भने,‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन् । यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्जवल गर्दैन् । यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घट्नाक्रमले पुष्टि गरिसकेको छ । हामीले पनि हेरिसकेका छौं । कसैले भुलवश यो नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाईदिन आग्रह गर्न चाहन्छु । कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु–अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु–साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो ? नेपाली जनताकै प्रधानमन्त्री हो ? तपाईंको जिउमा नेपालीकै रगत र पसिना छ, यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ ? त्यो सोध्न चाहन्छु । हेक्टर हेक्टरका जग्गा बेचेर नेपालीहरुले पैसा अमेरिका, अष्ट्रेलिया लैजान मिल्छ कि मिल्दैन् ? नेपालीहरुको भूभाग, जमिन, पूर्वजले आर्जिएको जमिन अमेरिका लैजान मिल्छ ?
देशमा ७६१ वटा सरकार बनाईएको भन्दै आक्रोश पोखे । उनले संघीय शासन भएका कुनैपनि देशमा तीन तहका सरकार नभएको तथ्यांक पेश गरे । उनले नेपालमा भने तीन टायरको सरकार बनाईएको भन्दै आलोचना गरे ।
उनले नेपालमा शासक वर्गलाई नै आरक्षण दिएको भन्दै आलोचना गरे । उनले अहिले दलतन्त्र र दलका नेताहरू मालामाल भएको र जनता लाचार हुनुपरेको अवस्था रहेको सुनाए । उनले जनताको शासन ल्याउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले पूरानै दलमा सवार भएर देश र जनताको लागि राम्रो गर्न नसक्ने निश्कर्ष निकालेर आफूले नयाँ दल खोलेर जनताको सेवामा समर्पित भएको बताए ।जनयुद्ध र जनआन्दोलनमा आफूहरुले ठूलो त्याग गरेको भएपनि त्यसमा ठूलो व्यापार र गद्दारी भएको उनको आरोप छ । उनले भने,‘आज यी नेताहरु नाँगो भइसकेपछि र उनीहरुको कुकर्म नाँगो भैसकेपछि अब कलाकारहरुलाई आफ्नो कभर बनाउँदैछन्, संविधान दिवस मनाउने भनेर नाटक गरिरहेका छन् । हिन्दीमा एउटा भनाई छ–जब गिधरकी मौद आती हे, तो उ शहरकेतर्फ भाग्ती हे, आज यी नेताहरु दरबारतिर गैरहेका छन् । नारायणहिटीतर्फ नेताजीहरुको यात्रा विनाशको यात्रा हुनेछ । कलाकारहरु त्यसको साक्षी किनारा नबन्नुहोस । तपाईंहरु सम्मानित हुनुहुन्छ । नेपाली जनताले घृणा गरेका र यी गन्हाएका चिजहरुलाई बोक्न नजानुहोस । यो संविधान दिवस हो ? राष्ट्रिय दिवस हो ? यो विदेशीहरुको लागि दिवस होला । विदेशीहरु यसमा खुशी छन् । आज नेताहरु एउटा–एउटा देशको ठेक्का लिएर एजेन्टको काम गरिरहेका छन् । फलानो पार्टी फलानो देशबाट चलेको छ, फलानो नेता फलानो देशबाट चलेका छन्, यो दुनियाँले बुझेको छैन् र ? यसरी नेपालमा खुलेआम विदेशी दलालहरुको व्यापार भैरहेको छ, नेपालको सम्पत्ति लुटेर विदेश लैजाने खेल भैरहेको छ, अहिलेको व्यवस्था खारेज गर्न जरुरी छ । देशप्रति कसैलाई माया छ भने यो संविधान खारेजीतिर जानुहोस । अनिमात्रै देश बनाउन सकिन्छ ।’




























