
जनकपुरधाम ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई ‘हाथी र सुंगुरको दोस्ती’ जस्तै भएको टिप्पणी गरेका छन् ।दिपावली तथा छठ पर्वको अवसरमा आजपा धनुषा जिल्ला कमिटीको आयोजनामा आज जनकपुरधामको पगलाबाबा धर्मशालामा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले दलतन्त्र कमजोर भएपछि ठुला दुई दल कांग्रेस र एमालेले गठबन्धन गरेको बताए ।‘पछिल्लो निर्वाचनमा एमाले नेतृत्वमा एउटा गठबन्धन थियो । अर्कोतर्फ कांग्रेसको नेतृत्वमा अर्को गठबन्धन थियो । एमालेले मतदातासंग मलाई मत दिनु एमालेको सरकार बनाउँछौं भन्यो, र कांग्रेसले हामीलाई मत दिनुस् हामी कांग्रेसको सरकार बनाउँछौं भन्यो । तर एमाले कांग्रेसको र कांग्रेसले एमालेको सरकार बनाउँछौ भनेका थिएनन्,’ आजपा अध्यक्ष साहले भने, ‘तर दुबै दलले मतदातासंग गद्धारी गरे, धोका दिए । अनैतिक गठबन्धन गरेपछि के यिनीहरुले मतदातासंग माफी माग्नु पर्दैन्, भोट फिर्ता गर्नुपर्दैन ? एउटा दलालले जग्गा किनबेचको बैना लिन्छ तर किनबेच नभएपछि बैना फिर्ता गर्छ । यिनीहरु मतदाताको भोट फिर्ता नगर्ने कस्तो दलला भएछन् ।’कांग्रेस र एमालेको निर्वाचनमा छुटाछुटै गठबन्धन रहेको र यिनीहरुको कुनै बिचार, सिद्धान्त, रुपरंग केही पनि नमिल्ने ‘हाथी र सुंगुरको दोस्ती’ जस्तै भएको उनले बताए । दलतन्त्र नेपालमा बर्बाद हुदै गईरहेको बताउदै कांग्रेस र एमालेको अनैतिक गठबन्धनले दलतन्त्र नै कमजोर भएको साहले बताए ।‘दलतन्त्र नांगिदै गईरहेको हामी देखिरहेका छौं । दलतन्त्र कमजोर बन्दै गईरहेको छ । मतदाता, जनतालाई धोका दिने कांग्रेस र एमालेको अनैतिक गठबन्धनले दलतन्त्र कमजोर भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘दलतन्त्र कमजोर भयो, लोकतन्त्र कमजोर भयो । जनताका बीच कमजोर भएकाहरु मिल्नुपर्ने बाध्यता आयो । यिनीहरुले जनताको आवश्यक्ता, चाहना बुझन नसकेर कमजोर भएका छन् ।’कांग्रेस र एमालेको गठबन्धन केही नेताको सिमित स्वार्थका लागि भएको बताउदै उनले यो गठबन्धनबाट कांग्रेस र एमालेकै नेताकार्यकर्ताहरु सन्तुष्ट नदेखिएको उनले बताए । जनतालाई दिनुपर्ने सेवा, सुविधा दिन नसकेको यो सरकार धेरै दिन नटिक्ने दावी उनले गरेका छन् ।केवल भ्रष्टलाई बचाउन, अपराधीलाई जोगाउनका लागि बनेको यो सरकारले विपक्षीलाई तर्साउने सत्तापक्षका अपराधी, भ्रष्टलाई बचाउने काम गरिरहेको साहले गम्भिर आरोप लगाए । सत्तापक्षका अपराधी, भ्रष्टहरु खुलेयाम छाती खोलेर घुम्दा समेत कारवाही गर्न नसकेको वर्तमान सरकारको जग नै कमजोर रहेको उनले बताए ।आजपाका धनुषा जिल्ला अध्यक्ष रामसागर महासेठको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, सचिव श्रीचन मुखिया, स्थाई कमिटी सदस्य श्रीलाल महासेठ, राधेश्याम साह लगायतका नेताहरुको बिशेष सहभागिता रहेको थियो ।




























