
काठमाडौं, आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी संघ नेपालले शुसिला कार्की नेतृत्वको सरकारले भूमी आयोग खारेज गर्ने निर्णयको विरोध गरेको छ । भूमिहीन सुकुम्बासी, दलित एवं अव्यवस्थित बसोबासीलाई भूमि उपलब्ध गराउनुको साटो भूमि आयोग नै खारेज गर्नु दुखद भएको संघले जनाएको छ ।संघका अध्यक्ष कालबहादुर विकले आज विज्ञप्ती जारी गर्दै सरकारको यस्तो निर्णयको बिरुद्धमा भूमिहिन सुकुम्बासीहरुले सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।कार्की नेतृत्वको सरकार र बालेन शाहहरुले भूमिहीन सुकुम्बासी दलित र अव्यवस्थित बासोबासीलाई न्याय नदिने जस्तो क्रियाकलाप देखाइरहदा संघले त्यसको भत्र्सना गर्दै अब कडा आन्दोलनमा जाने चेतावनी संघका अध्यक्ष विकले दिएका छन् ।वर्तमान सरकार विदेशीको इशारामा चलेको आरोप लगाउँदै उनले भूमिहीन सुकुम्बासीहरुको समस्या समाधान गर्न नचाहेको र जनता विरोधी सरकार आफूहरुलाई स्वीकार्य नभएको समेत उनले जनाएका छन् ।कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपा सहितका दलहरुले आफ्ना आसेपासेलाई पुर्जा वितरण गर्दै आएको तर वर्तमान सरकारले वास्तविक गरिब, सुकुम्बासीलाई पुर्जा वितरण गर्नुको साटो गरिब, सुकुम्बासीकै विरोधमा लाग्नु दुखद भएको उनले जनाएका छन् ।




























