
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्नुहुँदै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको थियो ।राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा हुने
यसैगरी, राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । अर्थमन्त्री पौडेलले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ता गर्ने क्रममा असोज २३ गते राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएको थियो । उहाँले राष्ट्रिय सभाबाट राजीनामा दिनुभएपछि उक्त सिट रिक्त भएको हो ।त्यस्तै, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई १०–१० लाख आर्थिक सहयोग गर्ने निर्णय बैठकले गरेको छ ।यसैगरी, कम्बोडियाको एक क्यासिनोमा आगलागीमा परी मृत्यु भएका झापाका निराकार पाण्डेको शव ल्याउन र त्यसका लागि आर्थिक प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको जानकारी अर्थमन्त्री पौडेलले दिनुभयो । सरकारले अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।Source :Gorkhapatra




























